पवित्र आत्मा
पवित्र आत्माले तपाईंलाई सिकाउनुहुनेछ र डोर्याउनुहुनेछ
तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्यो सत्य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
१ यूहन्ना २:२७
यो सम्पूर्ण वेबसाइटको उद्देश्य विश्वासीहरूलाई उत्साह दिनु हो: उनीहरूको अति पवित्र
विश्वासमा बढ्न चाहिने सबै कुरा उनीहरूसँग छ, र उनीहरूलाई धर्मशास्त्र अध्ययनको कलेज
(सेमिनरी) जान वा डक्टरेट उपाधि भएका मानिसबाट सिक्न आवश्यक छैन। परमेश्वरले पुरुष र
स्त्रीहरूलाई शिक्षकको रूपमा प्रयोग गर्नुहुन्न वा उनीहरूलाई यो वरदान दिनुहुन्न भन्ने होइन;
तर सिक्नका लागि हामी परमेश्वरका कुराहरू मानिसहरूबाट सिक्नमा भर पर्नुभन्दा पहिले
परमेश्वरका आत्माले सिकाउनुहुने परमेश्वरको वचनमा भर पर्नुपर्छ। त्यसैकारण परमेश्वरले
हामीलाई सिकाउन परमेश्वरका आत्मा, र हाम्रो पाठ्यपुस्तकको रूपमा परमेश्वरको वचन दिनुभएको छ।
परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ ? यसरी नै, परमेश्वरका आत्माबाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू बुझ्दैन ।
तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरका आत्मा पाएका छौँ, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्न सकौँ ।
१ कोरिन्थी २:१०-१२
यस खण्डमा हामी देख्छौँ कि आत्माद्वारा मात्र हामी परमेश्वरका कुराहरू सिक्न सक्छौँ। साथै,
पावल २ कोरिन्थीमा लेख्छन्:
कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्वरबाट आएको हो ।
परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
२ कोरिन्थी ३:५-६
त्यसैले हाम्रो लक्ष्य धर्मशास्त्रलाई केवल एउटा शैक्षिक अभ्यासको रूपमा अध्ययन गर्नु होइन,
तर परमेश्वरका कुराहरूमा आत्माबाट सिक्न खोज्नु हो। हामी ज्ञान थुपार्न चाहँदैनौँ, तर
उहाँको स्वरूपमा ढालिन मद्दत गर्ने कुराहरू खोज्न चाहन्छौँ।
म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
म यो प्रार्थना गर्दछु, कि हाम्रो बोलावटको निश्चयता के हो भनेर जान्नको निम्ति तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, र उहाँको निम्ति अलग गरिएकाहरूका बिचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्न सकोस् ।
हामी विश्वास गर्नेहरूमा उहाँको शक्तिको अत्याधिक महानताको विषयमा तिमीहरूले जान्न सकोस् भनेर म प्रार्थना गर्दछु…
एफिसि १:१७-१९
यूहन्ना १४ देखि १६ अध्यायमा पवित्र आत्माको विषयमा निर्देशनहरू छन्। यी अध्यायहरूका
विशेष गरी दुई पदले पवित्र आत्मालाई शिक्षक र मार्गदर्शकको रूपमा बताउँछन्:
तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
यूहन्ना १४:२६
तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
यूहन्ना १६:१३
त्यसैले, जब हामी सिक्न र बढ्न चाहन्छौँ, हामी अरू मानिसहरूले दिएका बाइबलका व्याख्यामा
भरोसा राख्दैनौँ, तर पहिले परमेश्वरको पाठ्यपुस्तकतिर हेर्छौँ, र हाम्रा शिक्षकको रूपमा
उहाँसँग कुरा गर्न र सङ्गति गर्न समय बिताउँछौँ। उहाँले धर्मशास्त्रद्वारा हाम्रा सबै प्रश्नको
जवाफ दिन सक्नुहुन्छ। उहाँ भन्नुहुन्छ:
माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।
किनकि माग्ने सबैले पाउँछन्…
मत्ती ७:७-८a
पवित्र आत्माले के गर्नुहुन्छ
उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ
म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।
यूहन्ना १४:१८
उहाँले हामीलाई शक्ति दिनुहुन्छ
तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ
प्रेरित १:८
सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
कलस्सी १:११
उहाँले संसारलाई दोषी ठहराउनुहुन्छ
जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ
यूहन्ना १६:८
उहाँ सधैँ हामीसँग हुनुहुन्छ
“म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्नेछु”
हिब्रू १३:५c
अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ…
यूहन्ना १४:१६
उहाँले हामीलाई “होइन” भन्न मद्दत गर्नुहुन्छ
…हरेककहाँ मुक्ति ल्याउन सक्षम परमेश्वरको अनुग्रह देखा परेको छ,
र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार,
धार्मिक र ईश्वरीय जीवन जिउन तालिम दिन्छ ।
तीतस २:११-१३
उहाँले आत्मिक जीवन दिनुहुन्छ
यदि तिमीहरूमा ख्रीष्ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।
येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
रोमी ८:१०-११
उहाँले विश्वासीहरूमा छाप लगाउनुहुन्छ
ख्रीष्टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।
हामीले हाम्रो उत्तराधिकार प्राप्त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।
एफिसि १:१३-१४
र परमेश्वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।
एफिसि ४:३०
के तपाईंसँग पवित्र आत्मा हुनुहुन्छ?
तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने, त्यो उहाँको होइन ।
रोमी ८:९
के तपाईंसँग पवित्र आत्मा हुनुहुन्छ? यदि हुनुहुन्न भने, तपाईं परमेश्वरको सन्तान हुनुहुन्न।
यदि तपाईंसँग आत्मा हुनुहुन्छ भने, तपाईंलाई कसरी थाहा छ? कुनै अनुभूतिद्वारा? कि
परमेश्वरको वचनद्वारा थाहा छ? परमेश्वरको वचनले के भन्छ, हेरौँ:
किनकि ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका पुत्रहरू हौ ।…
तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
गलाती ३:२६, गलाती ४:६
चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो र ठुलो सोरमा भन्नुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
धर्मशास्त्रले भनेझैँ जसले मलाई विश्वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्नेछन् ।”
तर उहाँले यो पवित्र आत्माको बारेमा भन्नुभएको थियो जसलाई उहाँमा विश्वास गर्नेहरूले प्राप्त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
यूहन्ना ७:३७-३९
हामीभित्र भएको आशाको कारण सोध्ने जोसुकैलाई पनि जवाफ दिन हामी तयार रहनुपर्छ
(१ पत्रुस ३:१५)। तपाईंसँग किन पवित्र आत्मा हुनुहुन्छ भनेर व्याख्या गर्न के तपाईं तयार
हुनुहुन्छ?
गृहकार्य
- पढ्नुहोस्: यूहन्ना १४-१६
- कण्ठ गर्नुहोस्: १ यूहन्ना २:२७, यूहन्ना १४:२६, १ कोरिन्थी २:१२, गलाती ३:२६, गलाती ४:६, यूहन्ना ७:३८
यसबारे थप जान्न, भिडियो शिक्षा (अङ्ग्रेजीमा) हेर्नुहोस्: The Holy Spirit Our Teacher।