“तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैँले जाँच…”
तलको पत्र नियमित रूपमा मण्डली जाने एक जना व्यक्तिलाई लेखिएको हो। चिन्ता यो छ, कि
उहाँ शैतानको सबैभन्दा ठुला धोकाहरूमध्ये एउटामा परेको हुन सक्नुहुन्छ: मण्डली जानु, सबै
सही शब्दहरू बोल्नु, सबै सही परम्पराहरू पालन गर्नु, आफू ख्रीष्टियन हुँ भनी साँच्चै विश्वास
गर्नु, र जीवनको अन्तमा चाहिँ वास्तवमा कहिल्यै उद्धार नपाएको ठहरिनु।
सायद यो मण्डलीमा तपाईंको छेउमा बस्ने व्यक्ति नै हुन सक्छ। यो सत्य बाँडेर कृपया
उहाँलाई सहायता गर्नुहोस्, किनकि परमेश्वरले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुभएको छ।
“यी सबै कुरा परमेश्वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।
अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ ।”
२ कोरिन्थी ५:१८-१९
प्रिय मित्र,
गएको हप्ता तपाईंसँग कुराकानी गर्दै बिताएको समय मलाई निकै रमाइलो लाग्यो। हामीले छलफल
गरेका कुराहरूमाथि तपाईंले विचार गर्नुभएको छ र गरिरहनुहुनेछ भनी म प्रार्थना गर्छु।
तपाईंले “म विश्वास गर्छु” भन्ने शब्दको प्रयोग गर्नुभएकोमा म निकै चिन्तित छु। परमेश्वरसँग
आफू साँच्चै कहाँ उभिएका छौँ भन्ने बुझाइमा मानिसहरूलाई धोका दिन शैतानले यही शब्द,
“विश्वास गर्नु”, प्रयोग गर्न सक्छ। कृपया प्रार्थनापूर्वक तलका पदहरूमाथि विचार गर्नुहोस् र
परमेश्वरलाई हृदयदेखि सोध्नुहोस्: “हे प्रभु, म तपाईंको सामु कहाँ उभिएको छु?”
“विश्वास गर्नु” को बारेमा परमेश्वरको वचन के भन्छ, कृपया विचार गर्नुहोस्:
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।”
यूहन्ना ३:१६
“परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् ।”
याकूब २:१९
“त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र ? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र ? र तपाईंको नाउँमा धेरै शक्तिशाली कामहरू गरेका थिएनौँ र ?’
तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ! ए दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल् !’”
मत्ती ७:२२-२३
पक्कै पनि यी मानिसहरूले परमेश्वरमा विश्वास गरे, तैपनि अहिले उनीहरू परमेश्वरबाट अलग भएर
अनन्तता बिताइरहेका छन्। “विश्वास गर्नु” र “ख्रीष्टियन हुनु” को साँचो अर्थको बारेमा शैतानले
धेरै मानिसलाई धोका दिएको र अलमल्याएको छ।
“‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्…”
मत्ती ७:२१
“म ख्रीष्टियन हुँ” भन्ने सबैजना स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्।
“म परमेश्वरमा विश्वास गर्छु” भन्ने सबैजना स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्।
“तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूले महसुस गरेका छैनौ ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ ।”
२ कोरिन्थी १३:५
परमेश्वरले आफ्नो वचनद्वारा हामीलाई साँचो विश्वासका प्रमाणहरू दिनुभएको छ। परमेश्वरको
वचनलाई सम्पूर्ण रूपमा प्रयोग गरेर, हामी साँचो विश्वासी हौँ कि धोकामा परेका छौँ भनी आफ्नो
विश्वासलाई जाँच्न सक्छौँ।
(तलका पदहरूले येशू ख्रीष्टमा पाइने साँचो उद्धारका केही प्रमाणहरू बताउँछन्।)
१. हरेक साँचो विश्वासीको जीवनमा एउटा नयाँ सुरुआतको समय हुन्छ, जुन बेला उसको जीवन
परिवर्तन हुन्छ। बाइबलले यसलाई नयाँ जन्म भन्छ।
“किनभने कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् ।”
२ कोरिन्थी ५:१७
येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्वरको राज्य देख्न सक्दैन ।”
यूहन्ना ३:३
के तपाईंको जीवनमा कुनै यस्तो समय आएको छ, जब तपाईं परिवर्तन हुनुभयो?
२. ख्रीष्टकहाँ आएपछि हामी पापविनाका हुनेछौँ भनी बाइबलले सिकाउँदैन। तर हामी उहाँका
आज्ञाहरू पालन गर्न चाहनेछौँ। उहाँको इच्छा पूरा गरेर उहाँलाई खुसी पार्न चाहनेछौँ।
“यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ ।
जसले “म परमेश्वरलाई चिन्छु “ भन्छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्यो झुटो हो, र त्यसमा सत्य हुँदैन ।
तर जसले उहाँको वचन पालन गर्छ, साँच्चै त्यो व्यक्ति परमेश्वरको प्रेमले सिद्ध भएको हुन्छ । हामी उहाँमा छौँ भन्ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।”
१ यूहन्ना २:३-५
के तपाईं उहाँको आज्ञापालन गर्न चाहनुहुन्छ?
३. परमेश्वरका सबै साँचो सन्तानले परमेश्वरबाट अनुशासन पाउँछन्।
“किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ ती हरेकलाई अनुशासनमा राख्नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ ।
कष्टलाई अनुशासनझैँ सहो । परमेश्वरले तिमीहरूसित छोराहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्छ र ?
तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।”
हिब्रू १२:६-८
के तपाईंलाई आफ्नो जीवनको कुनै यस्तो समय सम्झना छ,
जब परमेश्वरले तपाईंलाई कुनै निश्चित पापको कारण अनुशासनमा राख्नुभयो?
४. हरेक साँचो विश्वासीलाई यस जीवनमा सहायता गर्न पवित्र आत्मा दिइएको हुन्छ। तर उसको यस
संसारको शरीर पनि हुन्छ। त्यसैले हरेक विश्वासीभित्र यी दुईबिच सङ्घर्ष चल्छ। संसारले
जस्तै जिउने इच्छा, र परमेश्वरको वचनअनुसार उहाँको इच्छाको आज्ञापालन गर्दै जिउन
चाहनुहुने आत्माको इच्छाका बिच हामी परीक्षामा पर्छौँ।
“म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।”
गलाती ५:१६-१७
के तपाईंभित्र यो सङ्घर्ष छ?
५. कुनै पनि साँचो विश्वासी पापमा जिउँदैन। यसलाई पाप गर्नुसँग नमिलाउनुहोस्। पाप
भनेको परमेश्वरको इच्छाविरुद्धको काम हो। हामी विश्वासीहरूले पनि धेरै पल्ट पाप गर्छौँ,
कहिलेकाहीँ थाहै नपाई। तर पापमा जिउनु फरक कुरा हो: अर्थात् परमेश्वरको इच्छा जानेर पनि,
परिवर्तन हुने कुनै इच्छा वा प्रयासविना, जानीजानी त्यसको विरोधमा उभिरहनु।
“जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो ।”
१ यूहन्ना ३:९
“यदि हामीले हामीसँग पाप छैन भन्छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।”
१ यूहन्ना १:८
के तपाईं पापमा जिइरहनुभएको छ?
त्यसैले अन्तमा, हामी आफूसँग इमानदार हुनुपर्छ। हामीले साँच्चै आफ्नो हृदयभित्र हेर्नुपर्छ र
आफैँलाई सोध्नुपर्छ:
- के मेरो जीवनमा कुनै यस्तो समय आएको छ, जब म नयाँ सृष्टि भएँ?
- के म परमेश्वरको आज्ञापालन गर्न र उहाँको इच्छा पूरा गर्न चाहन्छु?
- के मलाई आफ्नो जीवनको कुनै यस्तो समय सम्झना छ, जब परमेश्वरले मलाई कुनै निश्चित पापको कारण अनुशासनमा राख्नुभयो?
- के म परमेश्वरको वचनको आज्ञापालन गर्न आफ्नो शरीरसँग सङ्घर्ष गरिरहेको छु?
- के म पापमा जिइरहेको छु?
चाँडै फेरि भेट्ने आशा गर्दछु।
तपाईंको मित्र,
एक ख्रीष्टियन
सम्बन्धित लेखहरू
← अध्ययनहरूमा फर्कनुहोस्