परमेश्वरको वचनमा मनन

मनन गर्ने धेरै फरक-फरक तरिकाहरू छन्। यस तरिकाले प्रत्येक पदलाई क्रमबद्ध रूपमा जाँचेर यसको सम्बन्ध यी कुराहरूसँग देखाउँछ: स्वीकार गर्नुपर्ने वा त्याग्नुपर्ने पापहरू, परमेश्वरका प्रतिज्ञाहरू, पछ्याउनुपर्ने उदाहरणहरू, पालन गर्नुपर्ने आज्ञाहरू, र परमेश्वरको विषयमा हामीले पाउन सक्ने ज्ञान।

बाइबलका तीन अलग-अलग खण्डहरूले हामी कसरी आशिषित हुन र हामीले गर्ने सबै काममा सफल हुन सक्छौँ भनी बताउँछन्:

“त्यो मानिस धन्यको हो जो दुष्‍टको सल्लाहमा हिंड्दैन वा पापीहरूका मार्गहरूमा खडा हुँदैन वा गिल्‍ला गर्नेहरूको सभामा बस्दैन ।
तर त्यसको खुसी परमप्रभुको व्यवस्थामा हुन्छ र उहाँको व्यवस्थामा त्यसले दिन र रात मनन गर्छ ।
त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्‍नो ऋतुमा त्‍यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।”
भजनसंग्रह १:१-३
“तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्ने छस् । तैँले यसलाई दिनरात मनन गर्ने छस्, ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्‍ने छस् । अनि तेरो फलिफाप हुने छ र तँ सफल हुने छस् ।”
यहोशू १:८
“तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।”
याकूब १:२५

हरेक पदको मुख्य कुरा परमेश्वरको वचनमा मनन गर्नु हो, ताकि पुस्तकमा लेखिएका सबै कुरा हामी पालन गर्न सकौँ।

यी पदहरूबाट स्पष्ट छ कि हामीले गर्ने सबै काममा हामी आशिषित र सफल हुन चाहन्छौँ भने, हामीले परमेश्वरको वचनमा मनन गर्नुपर्छ। मनन गर्ने एउटा असल बाइबलीय तरिका यहाँ छ:

बाइबलबाट एउटा पद छान्नुहोस्। त्यसलाई आफ्नै शब्दमा लेख्नुहोस्, कण्ठ गर्नुहोस्, अनि प्रार्थनापूर्वक तलका हरेक प्रश्नमाथि विचार गर्नुहोस्:

१. पापहरू

– के यहाँ त्याग्नुपर्ने कुनै पापहरू छन्?
“सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।”
२ तिमोथी ३:१६-१७

२. प्रतिज्ञाहरू

– के यहाँ तपाईंले आफ्नो बनाउनुपर्ने कुनै प्रतिज्ञाहरू छन्?
“यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।”
२ पत्रुस १:४

३. उदाहरणहरू

– के यहाँ पछ्याउनुपर्ने कुनै उदाहरणहरू छन्?
“मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।”
१ कोरिन्थी ११:१
“तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ…
…हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।”
२ थेसलोनिकी ३:७-९

४. आज्ञाहरू

– के यहाँ पालन गर्नुपर्ने कुनै आज्ञाहरू छन्? येशू यूहन्‍ना १४:२१ मा भन्नुहुन्छ:
“जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
यूहन्‍ना १४:२१

५. ज्ञान

– के यहाँ परमेश्वरको विषयमा सिक्नुपर्ने केही छ?
“तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।”
२ पत्रुस १:२

अङ्ग्रेजीमा यी पाँच बुँदाका पहिलो अक्षरहरूले “SPECK” शब्द बनाउँछन् भन्ने कुरामा ध्यान दिनुहोस् (Sins/पापहरू, Promises/प्रतिज्ञाहरू, Examples/उदाहरणहरू, Commands/आज्ञाहरू, Knowledge/ज्ञान)।

माथिका प्रश्नहरूमाथि प्रार्थनापूर्वक विचार गरिसकेपछि, परमेश्वरले तपाईंलाई देखाउनुभएको कुराप्रति तपाईंको व्यावहारिक प्रतिक्रिया के हो? आखिर, उद्देश्य त वचनमा मनन गर्नु हो, ताकि यसले भनेको कुरा हामी पालन गर्न सकौँ। याकूब भन्छन्: “आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर ।” (याकूब १:२२)


सम्बन्धित लेखहरू

← वचन ग्रहणमा फर्कनुहोस्